पाशाङ ग्याल्जेन लामा शेर्पा शेर्पाहरुको बारेमा हालसम्ममा उपलव्द स्वदेशी तथा
बिदेशी अनुसन्धान कर्ताहरु, मानव शास्त्रीहरु र लेखक हरुले लेखेका पुस्तकहरुको
आधारमा शेर्पाहरुको उदगम स्थल पूर्वी तिब्बतको खाम प्रदेशलाई मान्न सकीन्छ। तिनताका
खामप्रदेशमा १९ समुह अर्थात थर हरु भएको र यिनै थरहरु मध्येको खाम मिञागका
मिञाग्पाहरु, खाम सेर्ताका शेरपा लामा र लामा गोनपाहरु, खाम उनीका थिम्मीहरु र खाम
चाग्मोटाग का च्यावा (च्हाग्पा) हरु इस्वीसन १५३० तिर सगरमाथा हिमसृङखलाको १९५००
फीट उचाईको नाङपाला (महालंगुर) हिमाल पारगरि क्षमुलोङमा ,p>
(सगरमाथा) हिमालको दक्षिण तर्फको उपत्यका त्यसताकाको निर्जन प्रदेशमा सर्वप्रथम
प्रवेश गरको र सो उपत्यकाको नाम स्यार खुम्बु राखेको बर्णन पाईन्छ।
यी चार मुलथरका शेर्पाहरुको संख्यामा बृद्धी हुंदै जाँदा थप उपथरहरु पनि बन्दै
गएकाले ईस्वीसन १८५७ सम्ममा आईपुग्दा शेर्पाहरुको थर र उपथरको संख्या १० वटा भएको
तथ्य राजा सुरेन्द्र बीरबिक्रम शाहदेवको शासन काल बिक्रमसम्बत १९१४ चैत्र ७ गते
जारीभएको १० शेर्पाको लालमोहर ले पुष्टी गरेकोछ। उक्त १० शेर्पाको लालमोहर मा
च्यावा, खापा, गर्जा, गोले, ठाक्तो, फिनासा, खम्बाचे, सलाका, गोपर्मा र लामा शेर्पा
गरि १० वटा थरहरु उल्लेख गरिएको पाइन्छ। बिक्रमसम्बत १९१४ साल देखि २०६६ साल सम्म
१५२ बर्षमा यी उपथरहरुको संख्या बडेर ३० पुगेकोछ। यी उपथरहरुको संख्या धेरै भएतापनि
बास्तवमा यि उपथरहरु माथी उल्लेखीत ४ मुलथरहरु बाटनै छुट्टिएका हुन। तसर्थ यि
उपथरहरुलाई निम्नानुसार सम्बन्धीत मुल थरहरुमा समाबेश गरिएकोछ। १ - च्यावा
(च्हाग्पा) मुलथर अन्तर्गतका उपथरहरु:- च्यावा, नक्पो र ल्हुक्पा। २ – मिञाग्पा
मुलथर अन्तर्गतका उपथरहरु:- ठाक्तो, गर्जा, गोले, सिरे, फिनासा, युल खोङमा, खापा,
मिल्हसा, दोटुब, शर्पा, पाङकर्मा, मेन्दवा र पेनाग्पा। ३ – थिम्मी मुलथर अन्तर्गतका
उपथरहरु:- सलाका, खम्बाचे, गोपर्मा, पाल्दोर्जी, ल्हाकसीन्धु, छ्युशर्पा,
ठोम्पा, बिनाक्पा, श्यङगो, जोङनग्पा, श्हुरपा र पेनपुलो । ४ - लामा शेर्पा
अन्तर्गतका उपथरहरु:-लामा शेर्पा र लामा गोन्पा।
शेर्पा समुदायमा एउटै मुलथर अन्तरगतका उपथर भएकाहरू आपहमा स्वाँगेभाई (हाडनाता)
पर्ने भएकोले यिनीहरुको बीच बिहेबारी हुदैन। तसर्थ शेर्पाहरुको थर र उपथरहरुको
जानकारी सबै शेर्पाहरुले पाउन सकियोस भन्ने उदेश्यले नामको पछाडी थर लेखन जरुरी
भएकोछ। बडदो जनसंख्या र बसाँई सराईको कारणबाट टाडिदै गएका शेर्पाहरु लाई एक आपसमा
परिचीत गराउन पनि यसले सहयोग पुराउनेछ।
शेर्पा समुदायमा नामको पछाडी लेखिने सबभन्दा बडी प्रचलित शब्द शेर्पा हो। तर
बर्तमानमा शेर्पा भन्नाले कुनै जाति, थर वा उपथर बिशेष नभई सम्पूर्ण शेर्पा
समुदायलाई चिनाउने एउटा सामुहीक परिचायत्मक शब्दलाई जनाँउने भएकोले धेरैले आफ्नो
मौलिक थर नलेखि शेर्पानै लेखने गरेका छन। तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको सफल
आरोहण पछि त नामको पछाडी शेर्पा लेखने प्रचलन झन बडेकोछ। तर यसबाट शेर्पाहरुको
मौलिक थर र उपथरको बारेमा कुनै जानकारी नपाउने भएकाले यस समस्याको समाधान हेतु
नामको पछाडी शेर्पाको साथै मौलिक थर पनि लेखन उचीत हुनेछ। उदाहरणार्थ ङिमा शेर्पा
खम्बाचे, दावाशेर्पा सलाका, मिङमा शेर्पा ठाक्तो, ल्हाक्पा शेर्पा च्यावा, फुर्वा
शेर्पा गोपर्मा, पसाङ.शेर्पा फिनासा र पेम्बा शेर्पा गोले आदि।
नामको पछाडी मौलिक थर लेखनेमा शेर्पा लामा र लामा गोन्पाका सन्तानहरु
अग्रस्थानमा छन। यिनीहरुले मात्र नामको पछाडी शेर्पालामा अथवा लामा लेखने गरेकाछन
भने अपवादको रुपमा केही चर्चीत व्यक्तित्व हरुले आफ्नो नामको पछाडी मौलीक थर नै
राखेकाछन। जस्तै पासाङ गोपर्मा, पासाङ खम्बाचे आदि।
अहिलेका सम्पूर्ण शेर्पाहरुका ३० वटा उपथरहरु १० शेर्पाको लालमोहरमा उल्लेखित
उपथरहरुबाटनै फैलिएका हुनाले धेरै शेर्पा धेरै उपथर गर्नुको बदलामा सो लालमोहरमा
तोकिएका १० वटा उपथरहरुमानै सिमीत राखनु व्यबहारीक हुन्छ वा बृद्धी भएका उपथरनै
कायम गरिनु पर्छ छलफलको बिषय हुन सक्छ।
(सन्दर्भ सामग्री शेर्पाहरुको इतिहास र सँस्कृति-आचार्य ङाग्वाङ वोशेरलामा
शेर्पा)
|