तपाईं के लिनुहुन्छ ? सोल्जा (नुनको चिया ),गुलियो चिया , कफी - रोजी रोजीको चियाहरु थियो। हातमा थर्मस बोकेर बसभित्र ओहोर दोहोर गरिरहेका महिलाहरु बक्खु , वाङ्जुक , पाङ्देन र गरगहनाले सजिएका थिए भने पुरुषहरु पनि बक्खु ,तुतुङ र पाक्स्य टोपीमा ठाँटिएका थिए। फेब्रेवरी 21 आईतवार बिहान 7 बजेको समय न्युयोर्कस्थित ज्याक्शनहाइटको 69 street मा पार्क गरिराखेको greyhound बसभित्र दह्रो चियापान चल्दै थियो। लामो समयसम्म भेट नभएका यात्रुहरु भलाकुसारी गर्दै थिए , घोचपेच गर्दै थिए , सोल्टा सोल्टिनिहरु एकापसमा जिस्काजिस्की
र ठट्टा गर्दै थिए। चियाको दौड अलि मत्थर हुँदै गएपछि डेछ्याङ (चामलबाट बनाएको छ्याङ )को पालो आयो। सोल्जा खाँदै गरेको कागजे गिलास त कुनबेला हो मेरो हातबाट खोसीईसकेछ र बदलीमा झुसी डेछ्याङ हालेको गिलास पो मेरो हातमा रहेछ। म पनि दङ्ग पर्दै डेछ्याङ यसो चाखेको मात्र के थिएँ , थप्न आईहाल्थे। कती थपियो , त्यो गनेर साध्य भएन। बस हिँड्यो , बसै मात्र 12 गोटा थिए अरे ! अमेरिकि नियमानुसार बस हिँडेपछी सबैजना सिटबेल्टले बाँधिएर बस्नुपर्ने , तर बल्ल बल्ल आफन्तहरुसँग भेट भएको बेला बेल्टले बाँधिएर को बसोस ? त्यसपछी गूडिरहेको बसभित्र ब्रेकफास्ट पो शुरु भयो - सेलरोटी , आलुदम र अचार् सबैले जिब्रो पडकाइ पडकाइ खाए , पानीको सट्टा डेछ्याङ त छँदैथियो | चाडबाडको बेलामा पनि कोही पानी खान्छ ? भनेर पानीको बोतल बहिष्कार भएको थियो। खानपीन सकेपछी बिजुली पानीको असर् हो वा उत्सवीय मुडले हो यात्रुहरुले उन्मुक्त भएर गाना गाए। तन न्युयोर्कमा भएपनी मन सोलु र खुम्बुका पाखा पखेरोमा नाच्दै थियो।
शेर्पा समाज (न्युयोर्क ) ले ल्होसारको उपलक्षमा आयोजना गरेको ल्ह्प्सो (पुजा ) कार्यक्रममा मेरो मित्र तथा भाई लाक्पा पिनाशा शेर्पाको निमन्त्रणामा म बसबाट ल्ह्प्सो कार्यक्रमको गन्तब्य स्थलतर्फ यात्रा गर्दै थिएँ र माथिको बर्णन त्यही बसभित्रको रौनक थियो। न्युयोर्कको वाल्देनस्थित शाक्य गोम्बामा पुग्न झन्डै दुई घण्टा लाग्यो। बसबाट मात्र होइन , निजी गाडी लिएर आउनेहरु पनि प्रशस्त थिए। बोस्टन र न्युयोर्क छेउछाउबाट आउनेहरुको संख्या पनि थपिंदा यो कार्यक्रम ल्ह्प्सोमै सिमित नभएर यसलाई शेर्पाहरुको वार्षिक भेला वा बनभोज भन्दा अतिशयोक्ति नहोला। तिब्बती , नेपाली र अंग्रेजी भाषामा लेखिएको स्वागत -द्वारमा लामबद्व भएर हातहातमा भएको चम्किलो फित्ता देखाउनु पर्दो रहेछ , जुन फित्ता टिकट देखाएपछी बसभित्रै हातमा बाँध्न लगाइएको थियो। आकर्षक परम्परागत भेषभुषामा सज्जिएका किशोरिहरुले "ल्होसारको टसिदेले " शुभकामना ब्यक्त गर्दै छेमार (गहुँ र पिठो )ले सबैलाई पालैपालो स्वागत गरेका थिए। त्यसपछी कित्ली कित्लीमा डेछ्याङ लिएर बसेका महिलाहरुले फेरी डेछ्याङ्को गिलास हातमा थमाए। त्यो दिन चाँही साँच्चिकै मतवाली भइयो।
शेर्पाहरुले ल्होसारको उपलक्षमा आयोजना गर्ने ल्हप्सो (पुजा )मा सहभागी हुने धोको धेरै पहिलेदेखी नै थियो। उनिहरुको भब्य ल्ह्प्सो बारेमा धेरै चोटि सुनेको पनि थिएँ। यसपाली चैँ प्रत्यक्ष देखेँ ,साँचिनै भब्य थियो। तिब्बती र अन्य समुदायहरुले पनि ल्हप्सो गर्छन् , तर शेर्पा ल्हप्सोको दाँजोमा ती फिका , निरस र झारा टराइ देखिन्छ। अब हामी ल्हप्सो स्थलको बर्णनतर्फ जाऔँ - शाक्य गुम्बाको प्राङ्गनमा दुइवटा बिशाल सेता तम्बुहरु टाँगिएका थिए , सार्वजनिक महत्वका बिषयहरु जस्तै अमेरिकी सेन्सस आदिका बारेमा माइकबाट सुचनाहरु जारी गरिन्दैथियो , चियापान , जलपान र छ्याङ्पान आदि इत्यादिहरुको sponsor गर्ने ब्यक्तिहरुको नामहरु पढिन्दैथियो। थुप्रै मानिसहरु लगाएर धजा झुण्ड्याउने एउटा फलामको लिङ्गो ठड्याउने प्रयास गरियो , तर सकेनन र क्रेननै ल्याउनुपर्ने भयो र क्रेनको भाडा हजार डलर लाग्ने भएको र कोही sponsor निस्कनु हुन्छ भनी माइकबाट सोधनी हुँदा मिलिक्कै एकजना महिला आइपेमा हजार डलर बेहोर्न तयार भइन। ल्ह्प्सोका सहभागीहरुको spirit यसैबाट छर्लङ्गिन्दैन र ? त्यही भेलामा आगामी ल्ह्प्सोको आयोजकहरु स्वतस्फूर्त रुपमा देखापरे र उनिहरुलाई खदा लगाएर सम्मान गरियो। घरघरबाट ल्याएका पञ्चरङ्गी धजाहरु टाँगेर ब्यक्तिगत प्रार्थनाका साथसाथै प्राणी जगतको भलाइको लागि प्रार्थना गरी ल्हप्सोलेहरुले "की कि सो सो ल्ह ग्यलो " भनी चिच्याएर वाल्देनको आकाशै घन्काएर इश्वरिय महिमाको गुणगान गरेका थिए। छेमारलाई अग्लो ठाउँमा बीचमा राखी भिक्षु लामाहरुले त्यसको वरिपरि घुमेर बिभिन्न धार्मिक न्रित्यहरु गरेको देख्दा मलाई ओलाङ्चुङ गोलामा फुटुक (फुर्डुप )का अवसरमा नाचिने धार्मिक नाचको झल्झली याद आयो। म त मनमनै वलुङ (ओलाङ्चुङ )पुगेर टुनु (सिलौटे आकारको सानो खाल्डोमा थुप्रै ओखरहरु राखी अली परबाट ढुङ्गाको घुँइले हानेर ओखर बाहिर निकाल्ने खेल ) पो खेल्दै थिएँ।
जब हामी पूजा अर्चनाकोलागी शाक्य गुम्बाभित्र प्रवेश गर्यौँ ,त्यहाँ मलाई एउटा कुराले अचम्भित तुल्यायो। शाक्य दाक्चें रिम्पोछेंको ठुलो तस्वीर भित्ताको बीचमा थियो। गौतम बुद्वको एउटा ठुलो मुर्ती हलको दाँयाँ भित्तामा राखिएको थियो। जुनसुकै गोम्बामा पनि गौतम बुद्वलाई मैले भित्ताको बीचमा शिर्षस्थानमा प्रतिस्ठापित गरेको पाएको छु र अन्य रिम्पोछेंहरुको तस्विरहरु बुद्वका मुर्तिहरुमुनी राखिएका हुन्छन |तिब्बती बौद्व धर्ममा ङिमापा , गेलुपा , क्ग्युपा र सेग्यापा गरी चार धार्मिक सम्प्रादायहरु छन र यि चारैवटा बौद्व दर्शनानुसार चल्ने धार्मिक प्रतिस्ठानहरु हुन। गौतम बुद्व थाम हुन भने ,यी सम्प्रदायहरु हाँगाबिँगा हुन। मेरो आशय चाँही थाम बीचमा हुनुपर्ने , कसरी हाँगा भयो ? हुन त छेवैमा एउटा ठुलो शाक्य गोम्बा निर्माणधीन अवस्थामा थियो , हालको गोम्बा अस्थाई हो भन्ने कुरो प्रष्टै थियो। तर आफ्नो घर नबनुन्जेल डेरामा बस्दा पनि पारिवारिक नियम पालना गर्नु पर्दैन र ? यो मेरो चर्मचक्षुले देखेको कुरो हो , मेरो ठम्याइ गलत पनि हुन सक्छ।
अरुबेला बेस्मारी मासु खाने बौद्वमार्गीहरु पछील्ला समयमा धर्मिक समारोहहरुमा शाकाहारी बन्ने प्रयास गरेको द्रिष्टान्तहरु धेरै देखिन्दैछ। यसको ठीक उल्टो हिन्दू धर्मावलम्वीहरु अरुबेला मासु कम खाने ,तर धार्मिक पूजाका बेला बोका बली दीइ मासु पोलेर खान खुब रुचाउँछन। शेर्पा ल्ह्प्सोमा पनि शाकाहारी भोजन थियो। सोनाम उक्याव र केही तिब्बती युवाहरुले मासुरहित ल्होसार अभियान फेसबुकमा चलाएका थिए , शेर्पाहरुले त साँचिनै मासु नखाएर ल्ह्प्सोमा उदाहरण बनेर देखाइदिए। भोजन पश्चात एकातिर बहुसंख्यक खुम्बुलीहरु हातेमालो गरेर परम्परागत स्याब्रु (नाच )मा ब्यस्त थिए भने अर्कोतर्फ आधुनिक लोकगित घन्काउन DJ र उनका सहयोगीहरु बन्दोबस्तीमा जुटेका थिए। किशोर किशोरीहरु संगित बिनै जिउ हल्लाएर नाच्नलाई उत्ताउलो भैरहेका थिए। DJ ले उदघोषण गर्नासाथ नाच्नलाई खुटटा चिलाइरहेकाहरु पालभित्र जम्मा भए र "आयो है ढल्काउँदै झम झम इस्टकोट ..." को RAP version गीत र अन्य जिउ नै जुरुक्क उचाल्ने लोकप्रिय झ्याउरे गीतमा उन्मुक्त भएर नाचे। भर्खर हिउँ पग्लिएको चऊरमाथि नाच्दा चउरै हिल्लाम्मै भएपनि युवा युवतीहरु हिलो र जुत्ताको पर्वाह नगरी कमर मर्क्याइ मर्क्याइ नाचिरहेका थिए। त्यसपछि त स्याब्रुवाला अधबैँशेहरु पनि एकोहोरो धुनको स्याब्रुलाई छोडेर तन्नेरीहरुसंग "कलकत्ते काँइयो ,,,,गीतमा कुम जुधाउन आइपुगेका थिए। जसरी धर्म गर्नलाई अनुहारमा चाउरी पर्नु पर्दैन , त्यसरी नै नाच्नलाई उमेर तरुनो हुनैपर्छ भन्ने छैन। न्युयोर्केली ब्यस्त जीवनलाई एकछिन भएपनि भुलेर ल्ह्प्सोका सहभागीहरु मनमनै सोलु ,खुम्बु र नेपालका अन्य डाँडाकाँडाहरुमा पुगेका थिए। छुट्टीने बेला कुइरेहरुले For the road भनेर अन्तिम गिलास तन्काए जस्तै हाम्रा मानिसले बिदा हुँदा खाने छ्याङ्लाई "घेछ्याङ " भनिन्छ। घेछ्याङ पिएर आघौँ भेट हुने बाचा बन्धनका साथ मन अमिलो पारेर एकार्कासंग नछुट्टी धरै थिएन। आहा ! कस्तो बिर्सनै नसक्ने रमाइलो क्षण थियो त्यो ल्ह्प्सोरुपी शेर्पाहरुको वार्षिक भेला र बनभोज ! फर्किन्दा बसभित्र म मनमनै "कलकत्ते काँइयो ,,,,," गीत एकनाससंग गुनगुनाइरहेको थिएँ। अचाक्ली मुलुकको याद आईरहेको थियो !!!
शशांक लामा
न्युयोर्क
lama_sasang@yahoo.com